भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले ठेक्का रुग्ण हुनुमा कर्मचारीको भूमिका पनि रहेको बताए। मंगलबार काठमाडौंमा नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ संवाद कार्यक्रममा मन्त्री घिसिङले रुग्ण ठेक्काका कारण र सम्बन्धित पक्षमा आवश्यक छानबिन गरी कारवाही गरिने बताए।
उनका अनुसार, ठेक्का तोड्दा निर्माण व्यवसायीकै कारण रुग्ण भएका करीब २५० ठेक्का रहेका छन्। तर कर्मचारीको कारण रुग्ण भएका ठेक्कामा अहिलेसम्म कुनै कारवाही अघि बढाइएको छैन। मन्त्री घिसिङले भने, “त्यसमा छानबिन गरेर सम्बन्धित कर्मचारीलाई कारवाही गर्नुपर्छ।”
उनले निर्माण व्यवसायीलाई देशको विकासमा अनिवार्य ठहर गर्दै भने, “निर्माण व्यवसायी बिना ठूला काम सम्भव छैन। राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय, नेपालको विकासमा उनीहरूको भूमिका महत्वपूर्ण छ। तर क्षमता अभिवृद्धि गर्न आवश्यक छ।”
त्यसैगरी, मन्त्री घिसिङले ठेक्का व्यवस्थापनमा अनेक समस्या रहेको र समयमा निर्णय नहुँदा ठेक्का रुग्ण भएको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिस अनुसार निर्णय नगर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने बताए।
नेपालमा ठूला आयोजना सञ्चालनमा योजना र सहकार्यको कमीले पनि समस्या बढाएको उनले बताए। उनका अनुसार, “चीनको एउटा निर्माण व्यवसायी ६ महिनामा काम सम्पन्न गर्छ, तर नेपालमा सोही व्यवसायी ६ वर्षमा काम पूरा गर्न सक्दैन।”
मन्त्री घिसिङले ठेक्का तोड्दा बाँकी काम असुल्ने व्यवस्था हटाउने सरकारको सकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्दै, “काम गर्ने ठेकदारलाई सरकारले सहयोग गर्नेछ। सरकार तपाईंहरुको साथमा छ,” भनी उनले निर्माण व्यवसायीलाई आश्वस्त पारेका छन्।







प्रतिक्रिया