चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन्।
चितवनमा आइतबारदेखि जारी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्रलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र मतभेद र असन्तुष्टि रहेको स्वीकार गरे पनि त्यसलाई पार्टीको आन्तरिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिए।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक विवाद सार्वजनिक रूपमा नल्याउन निर्देशन दिँदै कुनै पनि प्रकारको गुटबन्दी नगर्न आग्रह गरे। रास्वपालाई विश्वास गरेर मत दिएका नागरिकप्रति जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
लामिछानेले मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार बनाउन नहुने भन्दै महाधिवेशनमार्फत पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने लक्ष्य रहेको बताए।
रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्व चयन, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ। पार्टीभित्र देखिएका मतभेदका बीच सभापति लामिछानेको यो अभिव्यक्तिलाई संगठनात्मक एकता कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।







प्रतिक्रिया