करेन्ट लागेर घाइते भएका विद्युत् कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले विद्युत् दुर्घटनामा घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित क्षतिपूर्ति दिने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा खोटाङका २५ वर्षीय सन्देश मगर, अर्थात् शेरबहादुर मगर, गत चैत ११ गते करेन्ट लागेर घाइते भएका थिए।

घाइते मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।

मगरले यसअघि १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् भने बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराइनेछ।