लागूऔषधसहित प्रहरीले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट २३ जनालाई पक्राउ गरेको छ। प्रहरीले ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजारभन्दा बढी प्रतिबन्धित औषधि तथा विभिन्न सवारीसाधन बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार सबैभन्दा ठूलो परिमाणमा बझाङको बित्थडचिर गाउँपालिका–८ बागथला बजारबाट ५ किलो १९५ ग्राम चरेससहित ३० वर्षीय कटक जप्रेल पक्राउ परेका छन्।
सुनसरीको इटहरीबाट ६ हजार ९८० ट्याब्लेट ट्रामाडोल र ७ हजार ट्याब्लेट स्पास्पेनसहित तीन जना पक्राउ परेका छन्। त्यस्तै, इनरुवा र बराहक्षेत्रबाट ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन्।
सिराहाको गोलबजारबाट ५३ ग्राम ३० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। काठमाडौंको नरेफाँटबाट १ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। उनीहरूको साथबाट दुईवटा ट्याक्सी र एउटा स्कुटर बरामद गरिएको छ।
यसैगरी, कपिलवस्तु, कैलाली, उदयपुर, झापा, धनुषा र मकवानपुरलगायत जिल्लाबाट पनि ब्राउनसुगर, खैरो हेरोइन, गाँजा तथा प्रतिबन्धित औषधिसहित विभिन्न व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबैमाथि सम्बन्धित इलाका तथा जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अघि बढाएको जनाएको छ।







प्रतिक्रिया