सूचना चुहाउनेलाई गोली हान्नुपर्छ : अमेरिकी राष्ट्रपति ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी तथा सैन्य गोप्य सूचना सञ्चारमाध्यममा चुहाउने व्यक्तिलाई गोली हान्नुपर्ने अभिव्यक्ति दिएका छन्। आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनका लागि समर्थन जुटाउने क्रममा एरिजोनाको बुलहेड सिटीमा आयोजित चुनावी र्‍यालीमा उनले यस्तो बताएका हुन्।

अल जजिराका अनुसार, र्‍यालीमा ट्रम्पले कुनै देशमाथि आक्रमण गर्ने समयजस्ता संवेदनशील सूचना चुहाउने व्यक्तिलाई विगतमा गोली हान्ने गरिएको दाबी गरे।

उनको यो अभिव्यक्ति सन् २०२५ जुनमा इजरायल र इरानबीच भएको १२ दिने युद्धका क्रममा अमेरिकाले इरानमाथि गरेको ‘अपरेसन मिडनाइट ह्यामर’सँग सम्बन्धित छ। उक्त सैन्य कारबाहीपछि अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए)को प्रारम्भिक प्रतिवेदनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए।

सार्वजनिक नगरिएको उक्त प्रतिवेदनमा अमेरिकी बमबारी हुनुअघि इरानले आफ्नो अधिकांश प्रशोधित युरेनियम अन्यत्र सारेको हुन सक्ने उल्लेख थियो। साथै, इरानका आणविक संरचनामा भएको क्षति ट्रम्पले दाबी गरेजति व्यापक नभएको संकेत गरिएको थियो।

ट्रम्पले भने सैन्य कारबाहीको समयतालिकासम्बन्धी सूचना चुहाइएको आरोप लगाउँदै द न्युयोर्क टाइम्स र सीएनएनप्रति आक्रोश व्यक्त गरेका थिए। उनका अनुसार, चुहिएको सूचनाका कारण अमेरिकी सैन्य अभियान दुई दिन पछाडि सार्नुपरेको थियो।

उनले सूचना चुहाउने व्यक्तिलाई जेलमा राख्नुपर्ने वा गोली हान्नुपर्ने बताउँदै त्यस्ता व्यक्तिलाई आजीवन कारावासमा राख्नुपर्ने धारणा पनि व्यक्त गरे।

सञ्चारमाध्यमसँग ट्रम्पको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।