भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) आर्थिक सहयोग गरेको छ।
मलेसियाका परराष्ट्रमन्त्री उतामा हाजी मोहम्मद बिन हाजी हसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उपलब्ध गराएको उक्त रकमको चेक बुधबार नेपालका लागि मलेसियास्थित कार्यवाहक राजदूत मुदिता बज्राचार्यले ग्रहण गरेकी हुन्।
गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मलेसियाले आर्थिक सहायता उपलब्ध गराएको हो।
मलेसियाका परराष्ट्रमन्त्री हसनले बाढीबाट भएको मानवीय क्षति र भौतिक विनाशप्रति दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेका छन्।
कार्यवाहक राजदूत बज्राचार्यले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा मलेसिया सरकारलाई धन्यवाद दिएकी छन्।







प्रतिक्रिया