साउदीका विमानस्थल र तेल संयन्त्रमा थप आक्रमण गर्ने हुथी विद्रोहीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल तथा तेल संयन्त्रमाथि आक्रमण थप तीव्र पार्ने चेतावनी दिएका छन्। उनीहरूले तेल उत्पादक कम्पनी साउदी अरामकोको मुख्य कार्यालयमा लगातार दोस्रो दिन आक्रमण गरेको दाबी गरेका छन्।

रोयटर्सका अनुसार, इरान समर्थित हुथी समूहले साउदीको पूर्वी सहर धहरानस्थित अरामको परिसर, रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र एक तेल प्रशोधन केन्द्रलाई ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल तथा ड्रोनबाट निशाना बनाएको जनाएको छ। यद्यपि, आक्रमणको समय र क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

साउदी अरेबियामाथि पछिल्लो एक सातायता हुथी समूहका आक्रमण बढेको बताइएको छ। गत शनिबार रियाद विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको दाबी गरिएको छ।

खाडी क्षेत्रमा अमेरिका र इरानबीच बढेको तनावसँगै यमनको द्वन्द्व पनि पुनः चर्किएको बताइएको छ। साउदी अरेबियाले यमन सरकारलाई सहयोग गर्दै आएको छ। यसैको प्रतिक्रियास्वरूप साउदीमा आक्रमण गरिएको हुथी समूहको दाबी छ।

हुथी विद्रोहीहरूले साउदीका विमानस्थल र तेल संयन्त्रलाई सैन्य लक्ष्य घोषणा गर्दै अन्तर्राष्ट्रिय जहाज कम्पनी, सर्वसाधारण र श्रमिकहरूलाई ती क्षेत्र तत्काल खाली गर्न चेतावनी दिएका छन्।