विमान अपहरणको संकेतपछि एयर इन्डियाको विमान जयपुरमा आपतकालीन अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । जर्मनीको फ्रान्कफर्टबाट भारतको दिल्लीका लागि उडेको एयर इन्डियाको विमानले अपहरणको आशंकापछि राजस्थानको जयपुर विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, बुधबार बिहान ९:०५ बजे एयर ट्राफिक कन्ट्रोल र अहमदाबादस्थित अधिकारीहरूले एयर इन्डियाको उडान एआई २०३० सम्बन्धी आपतकालीन सूचना प्राप्त गरेका थिए। त्यसपछि विमानलाई जयपुरतर्फ मोडिएको थियो। अघिल्लो रात १०:४५ बजे उडेको विमानले जयपुरमा सुरक्षित अवतरण गरेको हो।

प्रारम्भिक जानकारीअनुसार, विमान मुम्बई फ्लाइट इन्फर्मेसन रिजनमा रहेका बेला पाइलटले ‘स्क्वाक कोड ७५००’ सक्रिय गरेका थिए। यो कोड विमान अपहरण वा अन्य गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग गरिन्छ। बोइङ ७८७–९ विमानलाई अवतरणपछि सुरक्षा जाँचका लागि विमानस्थलको छुट्टै स्थानमा राखिएको थियो।

आपतकालीन अवतरणपछि जयपुर विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको थियो। प्रहरीको बम डिस्पोजल टोली, दमकल र अन्य सुरक्षा निकायका टोली घटनास्थलमा परिचालन गरिएका थिए। राजस्थान प्रहरीका वरिष्ठ अधिकारीहरू पनि विमानस्थल पुगेका थिए।

प्रहरीका सहायक आयुक्त शिव दयालले समाचार संस्था पीटीआईलाई बताएअनुसार, बमको धम्की आएपछि विमानको आपतकालीन अवतरणबारे विमानस्थलका अधिकारीहरूले प्रहरीलाई जानकारी गराएका थिए।

विमानमा सवार यात्रुहरूको कुल संख्या र घटनाबारे थप विवरण तत्काल सार्वजनिक भएको छैन। यस विषयमा एयर इन्डियाको आधिकारिक विज्ञप्ति प्रतीक्षा गरिएको छ।