यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनको तयारीमा रहेको रणबीर कपुर अभिनीत फिल्म ‘रामायण’ अहिले चर्चामा छ। नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणबीर कपुरले राम, साई पल्लवीले सीता र कन्नड अभिनेता यशले रावणको भूमिका निभाएका छन्। यश फिल्मका सहनिर्मातासमेत हुन्। फिल्मको पहिलो भाग नोभेम्बर ५ मा प्रदर्शन गर्ने तयारी छ।
यशको वास्तविक नाम नवीनकुमार गौडा हो। सन् १९८६ जनवरी ८ मा कर्नाटकको हासन जिल्लामा जन्मिएका उनी अहिले ‘रकिङ स्टार यश’का रूपमा परिचित छन्। तर उनको यो सफलता सहजै प्राप्त भएको होइन। सामान्य परिवारबाट आएका यशले अभिनय क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपरेको थियो।
बस चालकका छोरादेखि अभिनयको यात्रासम्म
यशका बुबा बस चालक थिए। परिवारको फिल्म क्षेत्रसँग कुनै सम्बन्ध थिएन। बाल्यकालदेखि नै नाटक र नृत्य प्रतियोगितामा भाग लिन रुचाउने यशलाई दर्शकको तालीले अभिनयप्रति आकर्षित गरेको थियो।
सन् २०१४ मा ‘विकेन्ड विथ रमेश’ कार्यक्रममा उनले शिक्षकहरूले ‘हिरो’ भनेर बोलाउँदा आफूलाई खुसी लाग्ने गरेको र त्यसपछि अभिनेता बन्ने सपना देख्न थालेको बताएका थिए।
अभिनयमा करियर बनाउने निर्णयमा परिवारको समर्थन भने सहजै पाएनन्। उनका बुबा छोरा सरकारी अधिकारी बनेको हेर्न चाहन्थे। यद्यपि, यशले आफ्नो सपना पछ्याउने निर्णय गरे।
खल्तीमा ३०० रुपैयाँ बोकेर बेंगलुरु पुगे
सन् २०१९ मा ‘द न्युज मिनेट’सँगको अन्तर्वार्तामा यशले फिल्म क्षेत्रमा अवसर खोज्न घर छाडेर बेंगलुरु पुगेको बताएका थिए। त्यतिबेला उनको खल्तीमा जम्मा ३०० रुपैयाँ थियो।
ठूलो सहरमा पुगेपछि डर लागे पनि आफूलाई संघर्ष गर्न डर नलाग्ने उनले बताएका थिए। घर फर्किएमा फेरि अभिनयको प्रयास गर्न नपाइने डरले पनि आफूलाई अघि बढ्न प्रेरित गरेको उनको भनाइ थियो।
थिएटरले बदल्यो जीवन
यशको अभिनय यात्रामा थिएटरको महत्त्वपूर्ण भूमिका रह्यो। साथी नन्जुन्डमार्फत उनी ‘बेन्का’ थिएटर समूहमा आबद्ध भएका थिए। त्यहाँको अनुभवले आफ्नो व्यक्तित्व र अभिनय क्षमतामा ठूलो परिवर्तन ल्याएको उनले बताएका छन्।
टेलिभिजनबाट पनि उनले आफ्नो पहिचान बनाउन थाले। ‘उत्तरायण’ र ‘नन्दा गोकुला’जस्ता कार्यक्रमबाट दर्शकमाझ परिचित भएका यशले ‘नन्दा गोकुला’मा राधिका पण्डितसँग काम गरेका थिए। पछि राधिका नै उनकी जीवनसाथी बनिन्।
‘मोगिना मनसु’बाट पायो पहिलो ठूलो पहिचान
सन् २००७ मा प्रदर्शन भएको ‘जम्बाडा हुडुगी’बाट सहायक अभिनेताका रूपमा फिल्मी यात्रा सुरु गरेका यशलाई सन् २००८ को फिल्म ‘मोगिना मनसु’ले ठूलो पहिचान दिलायो।
निर्देशक शशांकले उनलाई टेलिभिजनमा देखेपछि अभिनय क्षमता मन पराएको र फिल्मका लागि छनोट गरेको बताएका थिए। फिल्ममा यशको अभिनयको प्रशंसा भयो र उनले उत्कृष्ट सहायक अभिनेताको फिल्मफेयर पुरस्कारसमेत प्राप्त गरे।
त्यसपछि ‘गुग्ली’ र ‘मिस्टर एन्ड मिसेस रामाचारी’जस्ता फिल्मले उनको लोकप्रियता बढाए। विशेषगरी ‘मिस्टर एन्ड मिसेस रामाचारी’ले उनलाई कन्नड फिल्म उद्योगका प्रमुख अभिनेतामध्ये एकका रूपमा स्थापित गर्न मद्दत गर्यो।
‘केजीएफ’ले दिलायो देशव्यापी लोकप्रियता
यशको करियरमा सबैभन्दा ठूलो मोड ‘केजीएफ’ फिल्म शृङ्खलाले ल्यायो। यसले उनलाई कन्नड फिल्म उद्योगको सीमाभन्दा बाहिर पुर्याउँदै हिन्दीभाषी क्षेत्रसहित भारतभर लोकप्रिय बनायो।
फिल्म समीक्षक सुनयना सुरेशका अनुसार, ‘केजीएफ’ले यशलाई अन्य कलाकारभन्दा फरक पहिचान दिलायो। फिल्ममा उनको शक्तिशाली पर्दा उपस्थितिले उनलाई देशव्यापी दर्शकमाझ स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।
‘रामायण’मा रावणको भूमिका चुनौतीपूर्ण
अब यश ‘रामायण’मा रावणको भूमिकामार्फत दर्शकमाझ आउँदै छन्। सन् २०२६ को कमिक–कन कार्यक्रममा उनले रावणलाई जटिल पात्रका रूपमा व्याख्या गरेका थिए।
उनका अनुसार रावणको चरित्रबारे मानिसहरूको पहिल्यै निश्चित धारणा बनेको छ। त्यसैले यस्तो पात्रलाई पर्दामा प्रस्तुत गर्नु अभिनेताका लागि चुनौतीपूर्ण हुन्छ।
यशले रावणका काम र ती कामपछाडिका कारण बुझेर पात्रलाई प्रस्तुत गर्ने प्रयास गरिरहेको बताएका थिए। उनका लागि रावणको सोच र उद्देश्य बुझ्नु नै चरित्रलाई प्रभावकारी ढंगले पर्दामा उतार्ने मुख्य आधार हो।
सामान्य परिवारबाट सुरु भएको यशको यात्रा टेलिभिजन, थिएटर र कन्नड सिनेमाको सफलत हुँदै ‘केजीएफ’मार्फत देशव्यापी लोकप्रियतासम्म पुगेको छ। अब ‘रामायण’मा रावणको भूमिकाले उनको अभिनय यात्रामा अर्को महत्त्वपूर्ण अध्याय थप्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया