न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवा उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवा नेत्र घिमिरे र श्रीजन पाण्डेले उम्मेदवारी दिएका छन्। अपरच्युनिटी पार्टीका तर्फबाट घिमिरेले पाल्मस्र्टन नर्थ र ग्रिन पार्टीका तर्फबाट पाण्डेले क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्।

घिमिरेले शिक्षा, सीप विकास, युवाको भविष्य र बढ्दो जीवनयापन खर्चलाई प्राथमिकतामा राखेका छन्। शिक्षण पेसामा आबद्ध उनी युवाले सामना गरिरहेका चुनौतीलाई नीतिनिर्माणमार्फत सम्बोधन गर्न आफू चुनावी मैदानमा उत्रिएको बताउँछन्।

नेपालस्थित शरणार्थी शिविरमा बाल्यकाल बिताएका घिमिरे ११ वर्षको उमेरमा न्युजिल्यान्ड पुगेका थिए। माध्यमिक तहमा सामाजिक अध्ययन, शारीरिक शिक्षा र वित्तीय साक्षरता पढाउँदै आएका उनले प्राविधिक शिक्षा, उद्यमशीलता र व्यावहारिक सीप विकासमा अवसर विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। आवासको समस्या र आर्थिक दबाबलाई पनि उनले प्रमुख चुनौतीका रूपमा लिएका छन्।

इलेक्ट्रिकल इन्जिनियर पाण्डेले भने स्वच्छ ऊर्जा, वातावरण संरक्षण, किफायती जीवनयापन र हरित प्रविधिमा लगानी बढाउने एजेन्डा अघि सारेका छन्। पाल्मस्र्टन नर्थ ब्वाइज हाइस्कुल र क्यान्टरबरी विश्वविद्यालयमा अध्ययन गरेका पाण्डेले करिब दुई दशकदेखि जलवायु परिवर्तन र ऊर्जा समाधानका क्षेत्रमा काम गर्दै आएका छन्। वायु ऊर्जा केन्द्रको डिजाइनदेखि अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा पहलसम्मको अनुभव उनीसँग छ।

नेपाली मूलका दुई युवाको उम्मेदवारीलाई न्युजिल्यान्डमा नेपाली समुदायको राजनीतिक सहभागिताका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज श्रेष्ठले नेपाली समुदायले आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई नीतिनिर्माणको तहसम्म विस्तार गर्नुपर्ने बताएका छन्।

हिप्किन्स र लक्सनबीच मुख्य प्रतिस्पर्धा

न्युजिल्यान्डमा नयाँ सरकार चयनका लागि अग्रिम मतदान अक्टोबर २६ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने र मुख्य मतदान नोभेम्बर ७ मा हुने निर्वाचन तालिकामा उल्लेख छ। निर्वाचन आयोगका अनुसार देशभर २३ सयभन्दा बढी मतदान केन्द्र सञ्चालन गर्ने तयारी छ। प्रारम्भिक परिणाम मतदानकै दिन सार्वजनिक गरिनेछ भने आधिकारिक परिणाम नोभेम्बर २७ मा घोषणा गर्ने कार्यतालिका छ।

अक्टोबर २२ सम्म योग्य मतदातामध्ये ९२.२ प्रतिशतले नाम दर्ता गराएको निर्वाचन आयोगको तथ्यांक छ। यो मतदाता दर्ता दर हो, मतदानमा सहभागी हुने प्रतिशत होइन।

निर्वाचनमा वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी र विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्सबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तर, मिश्रित समानुपातिक निर्वाचन प्रणालीका कारण ग्रिन पार्टी, एक्ट पार्टी, न्युजिल्यान्ड फर्स्ट र ते पाटी माओरीको भूमिका पनि सरकार गठनमा महत्त्वपूर्ण हुन सक्छ।

अक्टोबर २० मा सार्वजनिक १ न्युज–भेरियन सर्वेक्षणमा नेसनल पार्टीले ३२ प्रतिशत र लेबर पार्टीले २७ प्रतिशत समर्थन पाएका थिए। सोही दिन सार्वजनिक पोस्ट–फ्रेसवाटर स्ट्राटेजी सर्वेक्षणमा भने लेबरले २८.७ प्रतिशत र नेसनल पार्टीले २७.६ प्रतिशत समर्थन पाएका थिए। फरक सर्वेक्षणका नतिजाले दुई प्रमुख दलबीचको प्रतिस्पर्धा अझै अनिश्चित रहेको देखाउँछन्।