‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक, पौराणिक कथा र समकालीन समाजको रोचक मिश्रण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मल्टिस्टारर नेपाली फिल्म ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले फिल्मको कथालाई आंशिक रूपमा उजागर गर्दै मुख्य पात्रहरूको उद्देश्य र उनीहरूबीचको सम्बन्धलाई रहस्यमय बनाएको छ।

ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर भीम, अर्जुन, नकुल र सहदेवको खोजीमा देखिन्छन्। आन्दोलन, दमन, यातना र अपराधका दृश्यसँगै युवतीको आकर्षणमा युधिष्ठिर मोहित भएको प्रसंग पनि समेटिएको छ। महाभारतका पाँच पाण्डवलाई समकालीन समाजका पात्रका रूपमा प्रस्तुत गरिएको फिल्मले पौराणिक कथा र वर्तमान घटनालाई कसरी जोड्छ भन्ने जिज्ञासा बढाएको छ।

वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवको भूमिकामा छन्।

फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

काली रानी फिल्म्सको ब्यानरमा काली रानी श्रेष्ठले निर्माण गरेको फिल्म नवीन श्रेष्ठले प्रस्तुत गरेका हुन्। फिल्म तिहारको अवसर पारेर कात्तिक २० गते प्रदर्शनमा आउने जनाइएको छ।