भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ले जनजीवन प्रभावित बनाएको छ। आन्ध्र प्रदेश र ओडिशामा भारी वर्षा तथा तीव्र हावाका कारण जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। खराब मौसमका कारण रेल र हवाई सेवा पनि प्रभावित भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार बिहान करिब ३:४५ बजे चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो। त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको बताइएको छ। विशाखापट्टनम, काकीनाडा र आसपासका क्षेत्रमा भारी वर्षाका कारण सडक जलमग्न भएका छन् भने समुद्री छालले तटीय सडकमा क्षति पुर्याएको छ।
ओडिशाका १६ जिल्लामा विद्यालय बन्द गरिएका छन् भने करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रका बासिन्दाका लागि हजारौँ आश्रयस्थलको व्यवस्था गरिएको छ। खराब मौसमका कारण ५० रेल र २१ उडान रद्द भएका छन्।
चक्रवातको प्रभाव तमिलनाडु, आन्ध्र प्रदेश, केरल, कर्नाटक, तेलंगाना, ओडिशा, पश्चिम बंगाल, बिहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ र महाराष्ट्रसहित १३ राज्यमा पर्न सक्ने अनुमान गरिएको छ। मौसम विभागले विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको छ।
चेन्नईको एन्नोर समुद्र तटमा करिब २० फिट अग्ला छाल उठ्दा तटीय सडकमा पानी जमेको छ। पुडुचेरीको यानम क्षेत्रमा हावाले रूख ढालेपछि राजमार्ग अवरुद्ध भएको छ। आन्ध्र प्रदेशको काकीनाडामा पनि समुद्री छालले तटीय सडकमा क्षति पुर्याएको छ।
जोखिमलाई ध्यानमा राख्दै माझीलाई समुद्रमा नजान र सर्वसाधारणलाई समुद्र तटबाट टाढा रहन आग्रह गरिएको छ। तमिलनाडुको थुथुकुडी जिल्लाका माझी लगातार तेस्रो दिन पनि माछा मार्न समुद्रमा गएका छैनन्।
मौसम विभागले बिहीबार र शुक्रबार भारतका विभिन्न राज्यमा वर्षा तथा केही क्षेत्रमा असिनाको सम्भावना रहेको जनाएको छ। पञ्जाब, हरियाणा, चण्डीगढ र दिल्लीका केही क्षेत्रमा असिना पर्न सक्ने अनुमान गरिएको छ। अन्य क्षेत्रमा पनि वर्षाको सम्भावनालाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको छ।







प्रतिक्रिया