देवीघाटस्थित तादी खोलामा सेनाले बनायो ५७.९ मिटर लामो एक्रोब्रिज, सडक सम्पर्क पुनः जोडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले ५ दिनमै नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ।

भदौ २० गतेदेखि निर्माण सुरु गरिएको पुलमा बिहीबार रातिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। नेपाली सेनाको १४ नम्बर बाहिनीअन्तर्गतको ब्रिजिङ युनिटले ७२ घण्टाभन्दा कम कार्यअवधिमा पुल तयार पारेको जनाएको छ।

५७ दशमलव ९ मिटर लामो यो एक्रोब्रिजको भारवहन क्षमता ६० टन रहेको छ। पुल सञ्चालनमा आएसँगै विदुर र बेलकोटगढी हुँदै धादिङ तथा रसुवागढीसँगको सडक सम्पर्क पुनः सहज भएको छ।

पुल बगाएपछि स्थानीयले घुमाउरो बाटो प्रयोग गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो। नयाँ पुल निर्माणसँगै स्थानीयको आवतजावत र सवारीसाधन सञ्चालन सहज भएको छ।

सेनाले गजुरीमा रणनीतिक जगेडाका रूपमा भण्डारण गरेर राखेको एक्रोब्रिज देवीघाटमा ल्याई जडान गरेको हो। बाढीका कारण अवरुद्ध सडक सम्पर्क छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सेनाले तीव्र गतिमा पुल निर्माण गरेको हो।