अर्जेन्टिनाको समुद्र रातारात सुक्यो ? भाइरल भिडियोको यस्तो छ वास्तविकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्जेन्टिनाको समुद्र अचानक सुक्यो र नयाँ टापु निस्कियो भन्दै टिकटक, युट्युब र फेसबुकमा भाइरल भइरहेका भिडियोले विश्वभर चर्चा पाएका छन्।

तर, अर्जेन्टिनाको समुद्र स्थायी रूपमा सुकेको वा हराएको भने होइन।

भाइरल भिडियोहरू ब्युनस आयर्स प्रान्तको समुद्री सहर मार डेल प्लाटाको तटीय क्षेत्रका हुन्। केही घण्टाका लागि समुद्रको पानी असामान्य रूपमा पछाडि हट्दा सामान्य अवस्थामा पानीमुनि रहने ‘रेस्तिन्गा देल फारो’ नामको विशाल चट्टानी संरचना देखिएको थियो।

यो घटना तीव्र हावा, वायुमण्डलीय चापमा आएको परिवर्तन र अत्यन्त न्यून ज्वारभाटाको संयुक्त प्रभावका कारण भएको बताइएको छ। वैज्ञानिक भाषामा यसलाई ‘विन्ड सेटडाउन’ अर्थात् हावाका कारण समुद्री पानी तटबाट पछाडि धकेलिने अवस्था भनिन्छ।

समुद्र पछाडि हटेको देखिएपछि कतिपयले यसलाई सुनामीको संकेतसमेत भनेका थिए। तर यो घटना सुनामीसँग सम्बन्धित नभएको बताइएको छ।

केही घण्टापछि समुद्रको पानी पुनः सामान्य अवस्थामा फर्किएको थियो। त्यसैले अर्जेन्टिनाको समुद्र हराएको वा यो कुनै विश्वव्यापी विपत्तिको संकेत भएको दाबी भ्रामक हो।