सप्तरी — सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीका क्रममा सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब ११ः२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार शौचालयबाट आफ्नो ड्युटी पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा खटिएका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआर राइफलबाट अनायास गोली चलेको थियो। उक्त गोली यादवको कम्मरमाथिको ढाडमा लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घटनापछि घाइते यादवलाई तत्काल गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मेहराज घिमिरेका अनुसार एसएलआर राइफलबाट आकस्मिक रूपमा गोली चलेपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि एसएलआर बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया