प्रेम विवाहको विरोधमा प्रहरी कार्यालयमै छोरीको हत्या, प्रहरीको भूमिकामाथि पनि प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतको उत्तर प्रदेशस्थित बाँदा जिल्लामा एक १९ वर्षीया युवतीको आफ्नै बुवाले प्रहरी कार्यालयभित्रै चक्कु प्रहार गरी हत्या गरेका छन्। अन्तरजातीय प्रेम विवाह गरेकी शिवानीमाथि भएको यो घटनाले भारतभर चर्चा र आक्रोश उत्पन्न गरेको छ।

प्रहरीका अनुसार शिवानी र उनका पति ललित वर्मालाई मध्य प्रदेशको बरौंधाबाट नियन्त्रणमा लिएर सोधपुछका लागि थानामा ल्याइएको थियो। काउन्सिलिङका क्रममा शिवानीले आफू बालिग भएको र आफ्नै इच्छाले ललितसँग विवाह गरी सँगै बस्न चाहेको बताएकी थिइन्। त्यसपछि आक्रोशित बनेका उनका बुवाले खल्तीबाट चक्कु निकालेर शिवानीमाथि आक्रमण गरेका थिए।

गम्भीर घाइते भएकी शिवानीलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले युवतीका बुवाविरुद्ध हत्या मुद्दा दर्ता गरेको छ।

घटनापछि बाँदा प्रहरी प्रमुख पलाश बंसलले थानाध्यक्ष अजीत प्रताप सिंह, एक सब–इन्स्पेक्टर र एक महिला प्रहरीलाई लाइन हाजिर गर्दै घटनाको छानबिन सुरु गरिएको बताएका छन्।

शिवानीले गत मे १८ मा आफ्नो प्रेमी ललित वर्मासँग विवाह गरेकी थिइन्। शिवानी ओबीसी समुदायकी थिइन् भने ललित दलित समुदायका भएकाले परिवारले सम्बन्ध स्वीकार नगरेको बताइएको छ। स्थानीयका अनुसार उनीहरूको प्रेम सम्बन्ध करिब सात वर्ष पुरानो थियो।

युवतीकी आमा रन्नो देवीले पनि आफ्नै श्रीमानले छोरीको हत्या गरेको स्वीकार गर्दै अन्तरजातीय विवाहका कारण परिवारलाई सामाजिक दबाब परेको बताएकी छन्।

घटनापछि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय गाउँपालिका अध्यक्ष विनोद गान्धीले अदालतबाट संरक्षण आदेश पाएका दुई युवायुवतीलाई किन नियन्त्रणमा लिइयो र प्रहरीको उपस्थितिमै यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न गरेका छन्।

स्थानीयका अनुसार थानाभित्रै भएको यो हत्या जिल्लाकै पहिलो घटना हो। प्रेम विवाह र जातीय विभेदसँग जोडिएको यस घटनाले महिला सुरक्षा, अन्तरजातीय विवाहप्रतिको सामाजिक दृष्टिकोण तथा प्रहरीको जिम्मेवारीबारे व्यापक बहस सुरु गराएको छ।