रुग्ण ठेक्का घटाउन ‘बाँकी लागत असुल गर्ने प्रावधान हटाउनुपर्छ’ — पूर्वसचिव थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वसचिव तथा पूर्वाधार विज्ञ अर्जुनजंग थापाले ठेक्का तोडिदिँदा बाँकी लागत रकम ठेकेदारसँग असुल गर्ने प्रावधान नेपालमै मात्र रहेको भन्दै यसलाई हटाउनुपर्ने बताएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन’ विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै थापाले यस्तो व्यवस्था संसारका कुनै पनि देशमा नदेखिने बताए।

उनका अनुसार निर्माण स्थल उपलब्ध गराउन ढिलाइ, संरचना सार्न सहज वातावरण नहुनु तथा सम्बन्धित निकायबीच कमजोर समन्वयले पनि ठेक्का रुग्ण हुने गरेको छ। निर्माण व्यवसायीले गर्नसक्ने काम समयमै गर्नुपर्ने, साथै कर्मचारीदेखि ठेकेदारसम्म सबैको प्राविधिक क्षमता बढाउनुपर्ने उनले जोड दिए।

थापाले २०७५ मंसिरसम्म ११८ अर्ब रुपैयाँ बराबरका १,८४८ ठेक्का रुग्ण रहेको उल्लेख गर्दै त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनशक्ति थप, क्षमता वृद्धि, सहजीकरण र अनुगमन प्रणाली बलियो बनाउनेलगायत ३०–३५ वटा सुझाव दिएको स्मरण गराए। ती सुधारले अहिले रुग्ण ठेक्का घटेर ४०० वटामा सीमित भएको उनले बताए।

कोरोना महामारी, भुक्तानीमा ढिलाइ र निकायबीचको समन्वय अभाव पछिल्ला वर्षमा ठेक्का रुग्ण हुने मुख्य कारण भएको थापाको भनाइ छ। अपर्याप्त बजेट र कर्मचारीका कारण पनि ५–७ प्रतिशत ठेक्का प्रभावित हुने गरेको उनले बताए।

सम्पन्न कामको भुक्तानी रोकेको अवस्थामा क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ। त्यस्तै, ठेक्का रुग्ण हुन नदिन कानुन संशोधन गरी सक्षम ठेकेदार छनोट, भेरिएसन र म्याद थप प्रक्रिया व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।