‘पुरानो नेतृत्वले नयाँ युग सम्हाल्न सकेन’ — उपाध्यक्ष ज्ञवालीको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बदलिँदो विज्ञान–प्रविधिक युगलाई अध्यक्ष केपी शर्मा ओलीले सम्हाल्न नसकेको आरोप लगाउँदै पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्। सोमबार होटल हार्दिकमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले अब नयाँ सोच, नयाँ नीति र नयाँ पुस्तालाई अवसर दिनुपर्ने स्पष्ट पारे।

ज्ञवालीका अनुसार वर्तमान युग विज्ञान, प्रविधि र उन्नत चेतनाले भरिएको भएकाले पुरानो नेतृत्वले ती परिवर्तनलाई छिटो आत्मसात गर्न नसकेको छ। “पुरानाले लोकतन्त्र ल्याएका हुन्, तर नयाँ युगले नयाँ नेतृत्वको माग गर्छ,” भन्दै उनले अब नयाँ मूल्य–मान्यता र विधि अनुसार अघि बढ्ने समय आएको बताए।

उनले पार्टीभित्र पुरानो शैली हटाई विधिवत् रूपमा नयाँ नेतृत्व स्थापनाका लागि अभियान चलाइरहेको जानकारी दिए। “हामी व्यक्तिको होइन, नयाँ मान्यता स्थापनाको पक्षमा छौँ। ओलीले नयाँलाई स्वीकार्न नसकेपछि हामीले नयाँ नेतृत्व अगाडि सार्नुपर्यो,” ज्ञवालीले स्पष्ट गरे।

सामूहिक नेतृत्वको अवधारणा पार्टीका दस्तावेजमा भए पनि व्यवहारमा लागू नभएको भन्दै उनले नेताप्रधान प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको आरोप लगाए। “दस्तावेजमा नीतिप्रधान भनेका छौँ, तर अभ्यास नेताप्रधान देखिन्छ, यही असहमतिले हामीलाई परिवर्तनको अभियानमा ल्यायो,” उनले भने।

२३ र २४ भदौको घटनाबारे समेत ज्ञवालीले नेतृत्वले आवश्यक प्रश्नहरू खोजेर समाधान गर्नुभन्दा दोष विदेशीमाथि मात्र थोपरेको आरोप लगाए। “मानिसहरू सामान्य कारणले सडकमा उत्रिँदैनन्, एमालेले पनि आफ्ना कमजोरी स्वीकारेर अगाडि बढ्नुपर्छ,” उनले टिप्पणी गरे।

ज्ञवालीका अभिव्यक्तिले एमालेभित्र नेतृत्व परिवर्तनको बहस झनै चर्किने संकेत देखिएको छ।