नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपछि उनी राजनीतिबाट विश्राम लिन लागेका हुन् भन्ने अड्कल पार्टीभित्र र बाहिर व्यापक रूपमा फैलिएको थियो। कांग्रेसको विधानअनुसार देउवा पुनः सभापति पदमा उम्मेदवारी दिन नपाउने भएपछि आगामी राजनीतिमा उनको भूमिका के रहने भन्ने विषयमा धेरै चर्चा चलेका थिए।
२४ भदौको जेन–जी आन्दोलनका बेला आक्रमणमा परेपछि देउवा करिब एक महिनासम्म सार्वजनिक रूपमा देखिएका थिएनन्। उनको सार्वजनिक पुनरागमन कांग्रेस केन्द्रीय समिति बैठकमा २६ असोजमा मात्र भयो। त्यसपछि देउवा पत्नी आरजु राणासँग थाइल्याण्डमा उपचारका लागि केही समय बसे।
थाइल्याण्डबाट फर्किएपछि भने देउवा राजनीतिक रूपमा झन् सक्रिय देखिएका छन्। महाधिवेशनका विषयमा कांग्रेसभित्र देखिएको मतभेद अहिले थामिएको छ, जसको श्रेय देउवाको सक्रियतालाई दिइएको छ।
अब सबैको ध्यान देउवा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लड्छन् कि लड्दैनन् भन्ने प्रश्नमा छ। डडेल्धुराबाट सातपटक विजयी भइसकेका देउवाले २०४८ देखि २०७९ सम्म उनको जित रोक्न कसैले सकेन। उनी एकपटक कञ्चनपुर र एकपटक कैलालीबाट पनि निर्वाचित भइसकेका छन्, तर दुवै पटक अन्ततः डडेल्धुरा नै रोजेका थिए।
थाइल्याण्डबाट फर्किएपछि देउवाको महाराजगञ्जस्थित निवासमा नेता–कार्यकर्ताको बाक्लो भीड लाग्दै आएको छ। भेट्न पुग्नेहरूमा बढी कैलाली र डडेल्धुराका कांग्रेस कार्यकर्ता छन्। अन्य पार्टीका नेताहरू पनि भेटघाटका लागि महाराजगञ्ज पुग्ने गरेका छन्।
भेटघाटका क्रममा देउवाले डडेल्धुराबाट ‘आठौँपटक’ चुनाव लड्ने इच्छा व्यक्त गरेको कांग्रेस नेताहरू बताउँछन्। एक नेताका अनुसार, “उहाँले खुलेरै चुनाव लड्छु भनेका छैनन्, तर कुराकानीमा अन्तिमपटक भए पनि डडेल्धुराबाट चुनाव लड्ने संकेत देखिन्छ।”
कांग्रेसका कतिपय नेताहरूले देउवाकै भनाइ उद्धृत गर्दै भनेका छन्, “उमेर धेरै भइसक्यो, अब अन्तिमपटक निर्वाचन लड्छु।”







प्रतिक्रिया