गैर आवासीय नेपाली संघ (एनआरएन) भित्र लामो समयदेखि चल्दै आएको दोहोरो नेतृत्व अन्त्य गर्दै आज ऐतिहासिक एकता सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले सहमति पत्रमा हस्ताक्षर गरेसँगै दुबै पक्ष एकताबद्ध भएका हुन्।
पछिल्लो केही वर्षदेखि श्रेष्ठ समूह र केसी समूह छुट्टाछुट्टै रूपमा सक्रिय रहेपनि अब १७ अप्रिल २०२६ भित्र १२औं महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ। केसी नेतृत्वको कार्यसमिति एकता महाधिवेशनमा महेश श्रेष्ठको नेतृत्वमा जान सहमत भएको छ।
एकतालाई संस्थागत गर्ने उद्देश्यले ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ, जसका सदस्यहरू १२औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। महाधिवेशन पारदर्शी, निष्पक्ष र विश्वासिलो बनाउन आवश्यक सबै तयारी सोही समितिद्वारा सम्हालिनेछ।
सहमतिको प्रारम्भिक बुँदामा दुवै पक्षका नेतृत्वलाई औपचारिक रूपमा स्वीकार गरिएको छ। ११औं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको कार्यसमिति र २०२५ मा एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिइएको छ।
यसअघि एनआरएनको आधिकारिकता तथा नेतृत्व विवादमा दायर भएका सबै मुद्दा फिर्ता लिने सहमति पनि बनेको छ। परराष्ट्र मन्त्रालयको रोहवरमा हस्ताक्षरित १० बुँदे सहमति मन्त्रालयमै अभिलेखित गरिनेछ।
दुवै पक्षको आर्थिक पारदर्शितालाई सुनिश्चित गर्न स्वतन्त्र तृतीय पक्षबाट अडिट गरिनेछ। १२औं महाधिवेशनमा सबै प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरिने र त्यसपछि नेतृत्व औपचारिक रूपमा हस्तान्तरण हुने सहमति छ।
आजको घोषणासँगै विश्वभरका एनआरएन नेतृत्व महेश श्रेष्ठको समन्वयमा एकीकृत रूपमा अघि बढ्नेछन्, जसले वर्षौंदेखिको विवाद अन्त्य गर्दै संघलाई नयाँ दिशातर्फ लैजाने अपेक्षा गरिएको छ।







प्रतिक्रिया