राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मङ्गलवार राति सम्पन्न सचिवालय बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। बैठकले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा आउन आह्वान गर्दै आगामी निर्वाचन–केन्द्रित संरचना र संगठनात्मक जिम्मेवारी पुनर्संरचना गर्ने निर्णय गरेको छ। साथै, पार्टीले सबै पालिकामा र्यापिड एक्सन टिम (Rapid Action Team) गठन गर्ने भएको छ।
बैठकका प्रमुख निर्णयहरू यसप्रकार छन्:
१. वैकल्पिक शक्तिलाई एकजुट हुने आह्वान
बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवादबारे उच्च संवाद समितिबाट ब्रिफिङ प्रस्तुत गरियो। सम्भावित राजनीतिक सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन सचिवालयले आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ।
सुशासन र द्रुत विकासमा विश्वास गर्ने सबै वैकल्पिक शक्तिहरूलाई अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन ल्याउन एकजुट हुन औपचारिक आह्वान गर्ने भएको छ।
२. आयोगहरूमा रिक्त पदपूर्ति
पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेका रिक्त पदहरू भर्न योग्य केन्द्रीय सदस्यहरूको नाम सिफारिस गर्न अनुरोध गर्ने निर्णय गरियो।
३. प्रदेश इन्चार्ज जिम्मेवारी फेरबदल
प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यलाई धन्यवाद दिँदै उनीहरूलाई आगामी निर्वाचन–केन्द्रित गतिविधिमा नयाँ जिम्मेवारी दिने तथा प्रदेश इन्चार्जको भूमिकामा केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय भएको छ।
४. सबै पालिकामा र्यापिड एक्सन टिम गठन
संगठन विस्तारलाई सुदृढ बनाउन सबै पालिकामा रास्वपाको र्यापिड एक्सन टिम गठन गर्न प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरिएछ।
५. कीर्तिपुर नगर समिति विघटन
कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० अनुसार कीर्तिपुर नगर समितिलाई विघटन गर्ने निर्णय गरिएको छ।
रास्वपाले यी निर्णयसँगै आगामी निर्वाचन, संगठन विस्तार र वैकल्पिक राजनीतिक शक्तिसँग सहकार्यको तयारी तीव्र पारेको संकेत दिएको छ।







प्रतिक्रिया