मुम्बईको बसईस्थित एक स्कूलमा ढिलो स्कुल आइपुग्ने कारण दिइएको कठोर सजायपछि १३ वर्षीया छात्राको मृत्यु भएको छ। मृतक बालिकाको परिवारले विद्यालयका शिक्षकमाथि आरोप लगाउँदै उनीहरूको क्रूर व्यवहारले बच्चाको स्वास्थ्य बिग्रिएको र त्यसैका कारण मृत्यु भएको बताएका छन्।
शिक्षिकाले ढिलो आइपुग्ने विद्यार्थीलाई १०० पटक उठबस गर्ने सजाय दिएको बताइएको छ। उक्त सजाय पाएको बालिका अचानक बिरामी पर्नुका साथै स्वास्थ्य अवस्था झन् बिग्रिएको थियो। उपचारका लागि सुरुमा बसईको आस्था अस्पतालमा भर्ना गरिएको भए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बईको प्रसिद्ध जेजे अस्पतालमा सारिएको थियो।
बालिका बसई पूर्वको सतिवली क्षेत्रको कुवरा पाडा परिसरमा रहेको स्कूलमा छैठौं कक्षामा पढ्थिन्। उक्त विद्यालयमा आठ कक्षासम्मको पढाइ हुन्छ। नोभेम्बर ८ का दिन केही विद्यार्थी ढिलो स्कूल आइपुगेका थिए, जसमा मृतक बालिका पनि थिइन्। विद्यालयबाट घर फर्केपछि उनी अचानक बिरामी परिन् र शुक्रबार (नोभेम्बर १४) राति करिब ११ बजे उपचारका क्रममा मृत्यु भयो।
यो घटनापछि स्थानीय समुदायमा शिक्षकको कडा अनुशासन र बालिकाको मृत्युबीचको सम्बन्धबारे तीव्र विवाद उत्पन्न भएको छ। घटनाको विषयमा विद्यालय प्रशासन र स्थानीय प्रशासनबाट अनुसन्धान अघि बढाइँदै छ।







प्रतिक्रिया