सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिगोबमोजिमको रकम बुझाइसके पनि थुनाबाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्था मिलाइदिन गरेको मागमाथिको सुनुवाइ आज फेरि स्थगित गरिएको छ।
बुटवल उच्च अदालतमा आजका लागि पेसी तोकिए पनि लामिछानेको अर्को मुद्दा पाटन उच्च अदालतमा परेकाले उनका कानून व्यवसायीले बुटवल इजलासमा स्थगितीकै माग गर्दै निवेदन दिएका थिए। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार सोही अनुरोधपछि आजको सुनुवाइ स्थगित गरिएको हो।
यसअघि कात्तिक २७ गतेको इजलासले सर्वोच्च अदालतमा रहेको मूल मिसिल (सडक फाइल) मगाउन आदेश दिएको थियो। मूल फाइल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि आजको पेसी तोकिएको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने र सहअभियुक्त छविलाल जोशीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा बुझाइसके पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्ने आदेश नदिएपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
उच्च अदालतले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा अघि बढाउन आदेश गरिसकेको छ। हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्।







प्रतिक्रिया