अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीसँग भेट गर्न सहमत भएका छन्। मम्दानीले आफूसँग भेटका लागि समय मागेको भन्दै ट्रम्पले बुधबार ट्रुथ सोसलमा उक्त जानकारी सार्वजनिक गरेका हुन्। ट्रम्पले आफ्नो पोस्टमा लेखे, “न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरमा ओभल अफिसमा गर्नेछौँ। थप विवरण पछि दिनेछौँ।”
मेयरको चुनावअघि ट्रम्पले मम्दानीलाई भोट नदिन सार्वजनिक रूपमा अपिल गरेका थिए। उनले मम्दानी विजयी भएमा न्युयोर्क सहरको फन्डिङ कटौती गर्ने चेतावनीसमेत दिएका थिए। तर, विजयी भाषणमा जोहरान मम्दानीले खुला चुनौती दिंदै ट्रम्पतर्फ क्यामेरामार्फत भनेका थिए, “डोनाल्ड ट्रम्प, मसँग तपाईंका लागि चार शब्द छन्— ‘टर्न द भोल्युम अप।’”
मम्दानीको ऐतिहासिक जितपछि पनि ट्रम्पले कडा प्रतिक्रिया दिएका थिए। उनले न्युयोर्क मम्दानीको नेतृत्वमा गइरहेको देखेर मानिसहरू “सहर छोडेर भाग्नेछन्” भनेका थिए। अब दुवैबीचको प्रत्यक्ष भेटवार्ता क्या अर्थ निकालिन्छ भन्ने उत्सुकता राजनीतिमा बढेको छ।







प्रतिक्रिया