बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन दमनमा घातक बल प्रयोग गरेको अभियोगमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमबार सुनाएको फैसलामा हसिनासहित उनका तत्कालीन आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई “मानवताविरोधी अपराध” मा दोषी ठहर गरिएको हो।
न्यायाधीशद्वारा अध्यक्षता गरिएको इजलासले गत वर्षको आन्दोलनका क्रममा भएको हिंसा, मृत्यु र दमनका घटनाहरूको विस्तृत विवरण सुनाउँदै तीनै जनालाई दोषी ठहर गर्यो। अदालतमा वकिल, मृतकका आफन्त र सञ्चारकर्मी गरी सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो।
शेख हसिनाले भने आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन्। गत साता बीबीसीलाई पठाएको इमेलमा उनले अदालतलाई राजनीतिक प्रतिद्वन्द्वीहरूले चलाएको “क्याङ्गरू कोर्ट” भन्दै त्यसलाई “नौटङ्की”को संज्ञा दिएको उल्लेख गरेकी थिइन्।
विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको आन्दोलन तीव्र बन्दै गएपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलनको उत्कर्षमा करिब १,४०० जनाले ज्यान गुमाएका थिए।
फैसला हुनु अघि पनि तनाव देखिएको थियो। शेख हसिनाको पारिवारिक इतिहाससँग जोडिएको धनमण्डीस्थित स्थानमा भेला भएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टन ग्रिनेड प्रयोग गरेको थियो।







प्रतिक्रिया