२०२५ को बिहार विधानसभा चुनाव नीतिश कुमारको दुई दशकभन्दा बढीको राजनीतिक यात्राको सबैभन्दा ठूलो परीक्षा बनेको छ। राज्यको राजनीतिक ध्रुवीकरणलाई निरन्तर आफ्नो नेतृत्व वरिपरि केन्द्रित राख्न सफल मुख्यमन्त्री नीतिश कुमारले यसपटक पनि विकास, सुशासन र समावेशी नीतिहरूका आधारमा मतदाताको विश्वास दोहोर्याउन सफल भएका छन्।
विपक्षीहरूले उनलाई ‘पल्टु’ भनेर आरोप लगाए पनि नीतिशले ग्रामीण पूर्वाधार विस्तार, सामाजिक सुरक्षा, प्रत्यक्ष आर्थिक सहयोग तथा सुशासनका ठोस परिणाममार्फत आफ्नो जनआधार मजबुत बनाउँदै आएका छन्। पछिल्ला योजनाहरू—जस्तै विधवा, वृद्ध र दिव्याङ्गका लागि पेन्सन, विद्यालयका गार्ड तथा पिटी शिक्षकको तलब दोब्बर, करिब एक करोड महिलालाई १० हजार रुपैयाँ सहयोग—ले समाजका तल्लो तहसम्म सकारात्मक प्रभाव पारेको छ।
यिनै कारणले उच्च जाति, कुशवाहा, पासवान, मुसहर, मल्लाहदेखि मुस्लिम समुदायसम्म मतदाता आधार विस्तार हुन सफल भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
प्रारम्भिक नतिजाअनुसार एनडिए गठबन्धनले १९० सिटमा अग्रता लिएको छ, जसमा जेडीयू ७६, भाजपा ८५, लोजपा २२ र अन्य दल ७ सिटमा अगाडि छन्। महागठबन्धन भने ४९ सिटमा सीमित छ। २०२० को तुलनामा जेडीयूका सिटमा ३३ को सुधार देखिनु नीतिशको ‘२५ से ३० फिर से नीतिश’ नारालाई व्यवहारिक बनाएको छ।
यसपटक ६७.१३ प्रतिशत ऐतिहासिक मतदान भएको छ, जसलाई विश्लेषकहरूले सत्ता विरोधभन्दा बढी प्रतिस्पर्धात्मक उत्साह मानेका छन्। परम्परागत रूपमा एनडिएप्रति शंकालु रहेका समुदायहरूले समेत विकासमुखी कार्यक्रमका कारण नीतिशमाथि भरोसा कायम राखेको देखिन्छ।
जेपी आन्दोलनदेखि राज्य–केन्द्र दुबै सरकारमा जिम्मेवारी सम्हाल्दै आएका नीतिश कुमार समावेशी सोच, कमजोर वर्गको आवाज र सुशासनका कारण राष्ट्रिय राजनीतिको महत्वपूर्ण पात्र बनेका छन्। सन् २००५ पछि निरन्तर नेतृत्व सम्हाल्दै आएका उनी पुनः निर्वाचित भएमा भारतकै दिग्गज दीर्घकालीन मुख्यमन्त्रीहरूको सूचीमा क्रमशः समावेश हुनेछन्। एजेन्सी







प्रतिक्रिया