काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले पुराना राजनीतिक दलको विकल्पका रूपमा आएका नयाँ शक्ति पनि जनअपेक्षाअनुसार जिम्मेवार बन्न नसकेको टिप्पणी गरेका छन्।
राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणासँग संयुक्त रूपमा नयाँ राजनीतिक अभियान घोषणा गर्दै प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले पुराना दलहरूले देश र जनताको अपेक्षा पूरा गर्न नसकेपछि नयाँ शक्तिको रूपमा आएको घण्टी पार्टीप्रति नागरिकले आशा राखेको भए पनि त्यसले समेत अपेक्षित भूमिका निर्वाह गर्न नसकेको दाबी गरे।
‘पुरानाले गरेनन्, सकेनन् भनेर बदलामा घण्टी पार्टी आयो । नयाँ पनि उस्तै देखिए,’ प्रसाईंले भने, ‘प्रधानमन्त्रीले हामीले भारतीय भूमि मिचेको भनेपछि के गर्ने ? २२ जिल्ला तिमीहरूले मिचेको भनेर भारतले सेना पठायो भने के हुन्छ ? प्रधानमन्त्रीले यसरी बोल्नु मजाक होइन ।’
प्रसाईंले देशमा राष्ट्रवादी वैकल्पिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै आफूहरू त्यस दिशामा अघि बढिरहेको बताए। उनले डा. धवलशमशेर राणासँगको सहकार्यलाई त्यसैको सुरुवातका रूपमा व्याख्या गरे।
‘यी सबैको विकल्पमा राष्ट्रवादी शक्ति हामी हो,’ उनले भने, ‘राजा, धर्म र राष्ट्रवादी शक्ति हामीसँग हुन्छ।’
यसअघि छुट्टाछुट्टै राजनीतिक तथा सामाजिक अभियान सञ्चालन गर्दै आएका प्रसाईं र राणाले अब संयुक्त रूपमा नयाँ अभियान अगाडि बढाउने घोषणा गरेका छन्। उनीहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक राजनीतिक धार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









प्रतिक्रिया