कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्साल स्थानीयको घेराउमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कमला नदीमा निर्माणाधीन पुलको निरीक्षणका क्रममा स्थानीयको घेराउमा परेका छन्। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला पुलको प्रगति बुझ्न शनिबार स्थलगत अनुगमनमा पुगेका मन्त्री लम्साललाई स्थानीयले गाडी रोकेर घेराउ गरेका हुन्।

निरीक्षणपछि स्थानीयसँग संवाद नगरी तथा सञ्चारकर्मीलाई प्रतिक्रिया नदिई फर्किन खोजेपछि आक्रोशित स्थानीयले मन्त्रीको गाडी रोकेका थिए। त्यसपछि गाडीबाट ओर्लिएका मन्त्री लम्सालले स्थानीयका गुनासा सुन्न बाध्य भएका थिए।

स्थानीयले पुल निर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्नेबारे स्पष्ट जवाफ माग गरेका थिए। त्यसक्रममा मन्त्री लम्सालले निर्माण कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए। निर्माण कम्पनीले १५ दिनभित्र आवतजावत गर्न मिल्ने गरी पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएपछि मात्र स्थानीयले मन्त्रीलाई फर्किन दिएका थिए।

स्थानीयका अनुसार मन्त्रीलाई घेर्नुअघि निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स जेभीका सञ्चालक विष्णु शर्मालाई समेत स्थानीयले जवाफदेही बनाउन घेराउ गरेका थिए।

झण्डै १५ वर्षदेखि निर्माणाधीन रहेको कमला पुल ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ। २४ करोड ९१ लाख रुपैयाँ लागतमा २०६८ मंसिरमा ठेक्का सम्झौता गरिएको उक्त पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, ठेकेदार कम्पनीले समयमै काम पूरा गर्न नसक्दा पटक–पटक म्याद थप्नुपरेको थियो।

निर्माणमा भएको ढिलासुस्तीविरुद्ध हुलाकी सडक संघर्ष समितिले आन्दोलन गरेपछि पुरानो ठेक्का रद्द गरिएको थियो। त्यसपछि २०७६ असोज १ गते लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई पुनः निर्माणको जिम्मा दिइएको थियो।

निर्माण सम्पन्न गरी उद्घाटनको तयारी भइरहेका बेला २०७८ असार १७ गते सामान्य बाढीकै क्रममा पुल भासिएपछि परियोजना पुनः विवादमा तानिएको थियो। हाल पुनर्निर्माण कार्य जारी रहे पनि पाँच वर्ष बित्न लाग्दा समेत पुल सञ्चालनमा आउन सकेको छैन।

पुलको डिजाइनमै त्रुटि रहेको आरोपसमेत उठ्दै आएको छ। यस विषयमा अनुसन्धान भइरहेको बताइए पनि स्थानीयले पुनर्निर्माणको सट्टा नयाँ डिजाइनसहित नयाँ पुल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।

सरकारले मागको ठोस सम्बोधन नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।