बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। काठमाडौंको आकाश धुम्म भएको छ भने मौसम पूर्वानुमान महाशाखाले यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने जनाएको छ।
मौसममा आएको परिवर्तनसँगै काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका खेल प्रभावित हुने सम्भावना बढेको छ।
वर्षाका कारण खेल सञ्चालन हुन नसकेमा दुवै टोलीलाई एक–एक अंक दिइनेछ। खेल चलिरहेको अवस्थामा वर्षा भएमा ओभर घटाएर डकवर्थ–लुइस–स्टर्न (डीएलएस) विधिबाट नतिजा निकाल्ने प्रयास गरिनेछ।
पहिलो इनिङ चलिरहेका बेला वर्षाका कारण खेल अघि बढाउन नसकिएमा खेल रद्द हुन सक्नेछ। दोस्रो इनिङमा वर्षा भएमा भने आवश्यक खेल पूरा भएको अवस्थामा डीएलएस विधिबाट नतिजा निर्धारण गर्न सकिनेछ।
डीएलएस विधिबाट नतिजा निकाल्न सामान्यतया दुवै टोलीले कम्तीमा पाँच–पाँच ओभर ब्याटिङ गर्न सक्ने अवस्था हुनुपर्छ। आवश्यक न्यूनतम ओभरको खेल हुन नसकेमा खेल रद्द हुन सक्नेछ।
मौसमको अवस्था र वर्षा हुने समयअनुसार एनपीएलका खेलको निर्णय फरक पर्न सक्ने भएकाले खेलाडी, आयोजक र दर्शकको ध्यान अहिले मौसमतर्फ केन्द्रित भएको छ।







प्रतिक्रिया