मुस्ताङमा स्याउ उत्पादन ५.२९ प्रतिशतले वृद्धि, मूल्य सवा अर्ब नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा ६६२ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको हो।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष जिल्लामा हाइब्रिड र स्थानीय जातका गरी ७ हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। जसमध्ये ९५९ दशमलव ६२ मेट्रिक टन हाइब्रिड र ६ हजार ७८ दशमलव ९२ मेट्रिक टन परम्परागत स्थानीय स्याउ रहेको छ।

उत्पादनको मूल्यमा हाइब्रिड स्याउको हिस्सा २३ करोड ६ लाख रुपैयाँ र स्थानीय स्याउको हिस्सा ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ। स्याउ बगैँचामा क्रप कटिङ विधिबाट उत्पादन मापन गर्नुका साथै स्थानीय तहका कृषि प्राविधिक र किसानसँगको समन्वयमा विवरण सङ्कलन गरिएको हो।

उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्ला बाहिर निकासी हुने अनुमान छ। त्यस्तै, १७ करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्लाभित्रै खपत हुने जनाइएको छ। जिल्लामा हाइब्रिड स्याउको मूल्य प्रतिकिलो २४० रुपैयाँ र स्थानीय स्याउको मूल्य प्रतिकिलो १५१ रुपैयाँ निर्धारण गरिएको छ।

गत वर्ष मुस्ताङमा ६ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५ दशमलव २९ प्रतिशत बढी उत्पादन भएको कार्यालय प्रमुख अर्यालले बताए।

जिल्लामा कुल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ। जसमध्ये ७६ हेक्टरमा हाइब्रिड र ८४१ हेक्टरमा परम्परागत स्थानीय जातका स्याउ खेती गरिएको छ।