एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने नेपाल आयल निगमको निर्देशनलाई ग्यास विक्रेता महासंघ नेपालले समर्थन गरेको छ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यास कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन निगमले अघि सारेको व्यवस्था सकारात्मक रहेको जनाएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले गत ९ कात्तिकमा सबै ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल–बिजक उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। ग्यास बिक्रीपछि उपभोक्तालाई बिल नदिने गुनासो बढेपछि निगमले यस्तो व्यवस्था कार्यान्वयन गर्न लागेको हो।
महासंघका अनुसार ग्यास कारोबार व्यवस्थित बनाउन यसअघि पनि बिल–बिजक जारी गर्ने व्यवस्था प्रभावकारी बनाउन निगमलाई सुझाव दिँदै आएको थियो। बिक्री वितरणमा अनिवार्य बिलको व्यवस्था लागू हुनु ग्यास व्यवसाय सुधारको महत्त्वपूर्ण कदम हुने महासंघको विश्वास छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न सबै ग्यास व्यवसायीलाई आग्रह गरेका छन्। उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक माग्न अनुरोध गरेका छन्।
महासंघले बिल–बिजक जारी गर्ने अभ्यासले कारोबारमा पारदर्शिता बढाउनुका साथै उपभोक्ताको अधिकार संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ।







प्रतिक्रिया