नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ६.३२ अंक, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले बढेका छन्।

आज १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ। जलविद्युत् उपसमूह २.०६ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहमा १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

आज लिबर्टी इनर्जी कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। घलेम्दी हाइड्रोको २८ करोड र बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

कम्पनीगत रूपमा बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयरमूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ। बुटवल पावर कम्पनीको सेयरमूल्य १०.५ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।