चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव: कोसीमा वर्षा सुरु, काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभावले नेपालमा वर्षा सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोसी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार बिहान ८ बजेदेखि कोसी प्रदेशमा वर्षा भइरहेको छ। देशका अन्य भूभागमा भने सामान्यतया बादल लागेको छ।

चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि यसको प्रभावले नेपालमा उल्लेख्य वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। प्रणालीको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने महाशाखाले यसअघि नै स्पष्ट पारेको थियो।

मौसमविद् निरौलाका अनुसार काठमाडौंमा बिहीबार रातिदेखि वर्षा हुने सम्भावना छ। कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौंमा निरन्तर वर्षा नभई केही समय पर्ने, रोकिने र फेरि वर्षा हुने सम्भावना रहेको उनले बताइन्। उपत्यकाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेकामा त्यसको जोखिम भने न्यून रहेको छ।

यस अवधिमा काठमाडौंमा हावाहुरीको सम्भावना नरहेको मौसमविद् निरौलाले बताइन्। तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।