फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १३४ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार बिहान ७ः३७ बजे आएको भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अष्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो। तर जोखिम मूल्यांकनपछि केही घण्टामै ती चेतावनीहरू रद्द वा स्तर घटाइएको थियो।
भूकम्पका कारण विभिन्न स्थानमा भवनहरू भत्किएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्वीरहरूमा आवासीय तथा व्यावसायिक संरचनाहरू क्षतिग्रस्त भएको देखिएको छ। एक लोकप्रिय फास्टफुड रेस्टुरेन्ट पूर्ण रूपमा ध्वस्त भएको दृश्य पनि सार्वजनिक भएको छ। केही क्षेत्रमा पहिरोसमेत गएको जनाइएको छ।
फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अनुसार सोक्सक्सार्गेन क्षेत्रमा ३१ जना र दाभाओ क्षेत्रमा ४ जनाको मृत्यु भएको छ। यसअघि १२ जना बेपत्ता रहेको जानकारी दिइएको थियो।
भूकम्पका कारण करिब १० हजार परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरणको कार्य जारी रहेको बीबीसीले जनाएको छ।
मिन्डानाओ फिलिपिन्सको दोस्रो ठूलो टापु हो, जहाँ करिब २ करोड ६० लाख मानिस बसोबास गर्छन्। राष्ट्रिय विपद् व्यवस्थापन निकायले विभिन्न स्थानीय निकायबाट प्राप्त विवरणहरू संकलन गरी आधिकारिक तथ्यांक सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाइएको बताएका छन् भने हताहतीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।







प्रतिक्रिया