सिरहा । जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन्।
गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ती उपकरणहरू प्रशासनले हालै काम नलाग्ने गरी नष्ट गरेको हो। जफत सामग्रीमा ७ थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड फोन र ५ थान स्मार्ट घडी रहेको तथा यसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
प्रशासनको उक्त कदमविरुद्ध संयुक्त विद्यार्थी संगठनले कडा विरोध कार्यक्रम सार्वजनिक गरेको छ। संगठनले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मागसहित आगामी जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिराहामा प्रदर्शन गर्ने घोषणा गरेको छ।

विद्यार्थी संगठनहरूले विद्यार्थीको सम्पत्तिमाथि दमन भएको र विना कानुनी आधार करोडौँको सम्पत्ति नष्ट गरिएको आरोप लगाएका छन्। उचित क्षतिपूर्ति र न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ।
यसअघि जिल्ला प्रशासन कार्यालयले भने परीक्षाको मर्यादा कायम राख्न र जफत गरिएका उपकरणहरू पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको दाबी गरेको थियो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शिक्षा विकास तथा समन्वय इकाइका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठित पाँच सदस्यीय उपसमितिको निर्णयअनुसार ती मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर र फुटाएर पूर्ण रूपमा नष्ट गरिएको हो।
प्रशासनले लिलामी गर्ने कानुनी विकल्प हुँदाहुँदै पनि सुरक्षा र गोपनीयताको कारण देखाउँदै ती उपकरण नष्ट गर्ने निर्णय गरेको थियो। यता अभिभावक र कानुन व्यवसायीहरूले भने यसलाई ‘कानुनी अराजकता’ को संज्ञा दिएका छन्।







प्रतिक्रिया