होटलमै मुख्यमन्त्री नियुक्त भएपछि सात दलको आपत्कालीन बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — मधेश प्रदेशमा नयाँ सत्ता संकट उत्पन्न भएको छ। सोमबार बिहान बर्दिवासको एक होटलमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ खुवाएपछि प्रदेश राजनीति तातिएको हो। बिरामी भएको भन्दै काठमाडौं गएकाे बताएकी प्रदेश प्रमुख भण्डारीले आकस्मिक रूपमा बर्दिवास पुगेर होटलमै शपथ खुवाएको घटनाले सात राजनीतिक दलहरू — कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र अन्य दलहरूलाई आक्रोशित बनाएको छ।

यी दलहरू अहिले मधेश भवनस्थित मुख्यमन्त्री निवासमा बैठक बसिरहेका छन्। बैठकमा सभामुखमाथि महाअभियोग, प्रदेश प्रमुख फिर्ता पठाउने, अदालत जाने र आन्दोलन सुरु गर्ने चार विकल्पमा छलफल भइरहेको स्रोतले जनाएको छ। उता, मुख्यमन्त्री यादवले शपथ लगत्तै एमाले, राप्रपा र संघीय समाजवादी पार्टीका एक–एक सांसदलाई विनाविभागीय मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। शपथ खानेहरूमा लखन दास तत्मा, बिमला अंसारी र कंचन बिच्छा रहेका छन्।

नवनियुक्त मुख्यमन्त्री अझै कार्यालय पुगेका छैनन्। आक्रोशित सात दलका कार्यकर्ताले मुख्यमन्त्री कार्यालय अगाडि गाडी तेर्स्याएर प्रवेश रोक्ने तयारी गरेका छन्। मधेशको राजनीतिक नाट्यक्रम थप चर्किंदै गएको छ।