काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (First Premium) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
कम्पनीले आफ्नो रजत जयन्ती (२५औँ वर्ष) को अवसरमा सार्वजनिक गरेको विवरणअनुसार १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने यो उपलब्धि नेपालको जीवन बीमा इतिहासमै पहिलो हो। यसअघि गत आर्थिक वर्षमा कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दै कीर्तिमान बनाएको थियो।
नेपाल लाइफले विगत २५ वर्षदेखि विश्वास, गुणस्तरीय सेवा र उत्कृष्टतालाई प्राथमिकतामा राखेर जीवन बीमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यस उपलब्धिले कम्पनीलाई नेपाली जीवन बीमा क्षेत्रमा अझ सशक्त अग्रणी संस्थाका रूपमा स्थापित गरेको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस ऐतिहासिक सफलताका लागि सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
उनले आगामी दिनमा प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजनाको विकास, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।
नेपाल लाइफले “२५ वर्षको विश्वास, १३ अर्बको ऐतिहासिक उपलब्धि” लाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी र सरोकारवालाको साझा सफलताका रूपमा लिँदै भविष्यमा पनि जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरेको छ।







प्रतिक्रिया