काठमाडौं — आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आज सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। बाराको सिमरामा भएको मौखिक सहमतिलाई लिखित रूप दिन सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र मिटरब्याज पीडितका प्रतिनिधिबीच सम्झौताको अन्तिम मस्यौदामाथि छलफल भइरहेको छ। सहमति जुटेपछि आजै औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
यसअघि बिहीबार पनि दुवै पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो। त्यही छलफलमा भएका सहमतिलाई आधार बनाएर शुक्रबार अन्तिम सम्झौताको प्रक्रिया अघि बढाइएको हो।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व)का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्यका रूपमा सहभागी छन्।
दुवै पक्षबीच सहमति भए आन्दोलनको समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया