काठमाडौं — आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गराउने तयारी गरेको छ। यसका लागि परिवारका सदस्य सोमबार प्रहरी वृत्त कालीमाटी पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार जाहेरी दर्तापछि कानुनी प्रक्रिया अघि बढाइनेछ। उनले प्रत्येक अप्राकृतिक मृत्युको घटनामा जाहेरी दर्ता गर्ने, त्यसपछि पोस्टमार्टम, शव बुझाउने तथा आवश्यक देखिए कानुनी कारबाही अघि बढाउने प्रक्रिया अपनाइने जानकारी दिए।
यसअघि आइतबार मृतकका परिवार र प्रशासनबीच नौबुँदे सहमति भएको थियो। सहमतिपछि परिवार कानुनी प्रक्रियामा अघि बढ्न तयार भएको हो।
गणेश नेपालीले राहदानी विभाग अगाडि काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।
घटनापछि प्रहरीले महानगर प्रहरीका कर्मचारी तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरी बयान लिइसकेको छ। साथै घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
प्रहरीले जाहेरी दर्तापछि घटनाको कानुनी अनुसन्धानलाई थप अघि बढाउने जनाएको छ।







प्रतिक्रिया