दोस्रो विश्वयुद्धपछिको विश्व राजनीतिक व्यवस्था भत्किँदैछ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो विश्वयुद्धपछि बनेको विश्व राजनीतिक व्यवस्था भत्किँदै गएको र नयाँ व्यवस्था निर्माण भइनसकेको बताएका छन्। यसको प्रभाव विश्वभर परेको उनको दाबी छ।

शनिबार दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै प्रचण्डले रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन द्वन्द्वको उदाहरण दिँदै विश्व राजनीति संक्रमणकालीन अवस्थामा रहेको बताएका हुन्।

उनले विश्व महाशक्तिबीचको प्रतिस्पर्धा र बदलिँदो भूराजनीतिक परिस्थितिको प्रभाव नेपालमा समेत परेको बताए। दुई ठूला छिमेकी चीन र भारतको बीचमा रहेको नेपाल विश्व शक्तिहरूको प्रतिस्पर्धाबाट अछुतो रहन नसक्ने उनको भनाइ थियो।

प्रचण्डले बदलिँदो विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थाबारे जनतालाई जानकारी गराउन अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार अभियान आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ।

अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी तथा महिलालगायत नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका आलोचना तथा सुझाव सुन्ने कार्यक्रम छ।

नेकपाले अभियानमार्फत राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा, जनअधिकारको संरक्षण, सामाजिक न्याय तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।