एप्पल र गुगलले सोमबार एक महत्वपूर्ण प्रविधि सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौताअनुसार एप्पलको सिरी सहायकसहित अर्को पुस्ताका कृत्रिम बुद्धिमत्ता (एआई) सुविधाहरू गुगलको जेमिनी एआई मोडेल र क्लाउड प्रविधिबाट सञ्चालित हुनेछन् ।
सम्झौतासम्बन्धी जानकारी दुवै कम्पनीले संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘एप्पलले गुगलको एआई प्रविधिले एप्पल फाउन्डेसन मोडेलहरूका लागि उत्कृष्ट क्षमताहरू प्रदान गर्दछ भन्ने निष्कर्ष निकालेको छ ।’
यस सहकार्यले एप्पलका उपकरणहरूमा प्रयोग हुने एआई सेवाहरूलाई अझ शक्तिशाली, द्रुत र उन्नत बनाउने अपेक्षा गरिएको छ । यद्यपि, एप्पलले आफ्ना प्रयोगकर्ताको गोपनीयता प्राथमिकतामा रहने स्पष्ट पारेको छ ।
विज्ञप्तिअनुसार एप्पलको कृत्रिम बुद्धिमत्ता प्रणाली एप्पलका गोपनीयता मापदण्डअनुसार नै सञ्चालन हुनेछ । एआई प्रक्रिया एप्पलका उपकरणहरू र निजी क्लाउड कम्प्युटिङ प्रणालीमै सीमित रहने जनाइएको छ ।
प्रविधि क्षेत्रका विश्लेषकहरूका अनुसार यो सम्झौताले एआई प्रतिस्पर्धामा नयाँ समीकरण सिर्जना गर्नेछ र एप्पल तथा गुगलबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउनेछ ।







प्रतिक्रिया