अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । अमेरिकी दूतावासले सुरक्षा चेतावनी (एडभाइजरी) जारी गर्दै इरानमा रहेका सबै अमेरिकी नागरिकलाई तुरुन्तै देश छाड्न आग्रह गरेको हो ।

दूतावासका अनुसार इरानभर सरकारविरुद्धका प्रदर्शन तीव्र रूपमा बढिरहेका छन् र ती प्रदर्शन अझ हिंसात्मक हुन सक्ने जोखिम रहेको छ । यस्तो अवस्थामा पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने तथा सुरक्षामा गम्भीर खतरा उत्पन्न हुनसक्ने भएकाले अमेरिकी नागरिकलाई सुरक्षित स्थानतर्फ जान वा देश छाड्न भनिएको छ ।

जारी गरिएको एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई वैकल्पिक सम्पर्कका उपायहरू खोज्न सुझाव दिइएको छ । साथै, यदि सम्भव र सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्पबारे पनि विचार गर्न भनिएको छ ।

एडभाइजरीमा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थानमा बस्नुहोस् । खाना, पानी, औषधि तथा अन्य आवश्यक सामग्रीको भण्डारण गरेर राख्नुहोस् । प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सधैं सचेत रहनुहोस् ।’

इरानमा अमेरिकाको औपचारिक कूटनीतिक उपस्थिति छैन । अमेरिकाका लागि स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निभाउँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयले ‘यूएस भर्चुअल एम्बेसी इरान’मार्फत नागरिकहरूलाई सूचना र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

गत करिब दुई हप्तादेखि इरानमा सरकारविरुद्ध व्यापक प्रदर्शनहरू जारी छन् । यसका साथै सरकारको समर्थनमा पनि विभिन्न स्थानमा र्‍यालीहरू निकालिएको बताइएको छ ।