इरानमा विरोध प्रदर्शन १२औँ दिनमा पनि चर्किँदै, ३५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इरानमा जारी सरकारविरुद्धको विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ। बीबीसीका अनुसार आन्दोलन मत्थर हुने संकेत नदेखिई झनै चर्किँदै गएको छ।

बीबीसीको ‘फ्याक्ट फाइन्डिङ युनिट’ले मानव अधिकारवादी समाचार एजेन्सी एचआरएनएलाई उद्धृत गर्दै देशभर भएका प्रदर्शनका क्रममा हालसम्म दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भएको अनुमान गरेको छ। मृतकमध्ये चारजना बालबालिका रहेको जनाइएको छ।

२८ डिसेम्बरदेखि सुरु भएको यो आन्दोलन हाल देशका ३१ प्रान्तका १११ शहरमा फैलिएको एजेन्सीको दाबी छ। पछिल्लो ११ दिनमा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने करिब २ हजार २०० जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

बीबीसी फ्याक्ट फाइन्डिङ युनिटले मृत्यु भएका मध्ये बालबालिकासहित २१ जनाको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सफल भएको जनाएको छ।

यसैबीच, तेहरानको एक सडकको नाम अज्ञात प्रदर्शनकारीले ‘ट्रम्प स्ट्रिट’ राखेको विषयमा अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ। मन्त्रालयको फारसी भाषाको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा उक्त कदमको प्रशंसा गर्दै अमेरिका इरानी जनताको आवाज र आकाङ्क्षाको सम्मान गर्ने बताइएको छ।

अमेरिकाले इरानमा भइरहेको प्रदर्शनलाई समर्थन गरेपछि इरान सरकारले त्यसको कडा आलोचना गरेको छ।