बीवाईडीले टेस्लालाई उछिन्दै विश्वकै सर्वाधिक बिक्री हुने ईभी ब्राण्ड बन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिनियाँ अटोमोबाइल ब्राण्ड बीवाईडी विश्वकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक गाडी (ईभी) बिक्रेता बनेको छ। वार्षिक बिक्री तथ्याङ्कमा पहिलोपटक बीवाईडीले एलन मस्कको कम्पनी टेस्लालाई पछि पारेको हो।

बीवाईडीका अनुसार सन् २०२५ मा ब्याट्रीबाट चल्ने गाडीको बिक्री २८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सो वर्ष २२ लाख ५० हजारभन्दा बढी ईभी बिक्री गरेको बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। यद्यपि, टेस्लाले सन् २०२५ को आधिकारिक बिक्री विवरण अझै सार्वजनिक गर्न बाँकी छ।

टेस्लाले बिक्री तथ्याङ्क शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको भए पनि हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार सन् २०२५ मा टेस्लाले करिब १६ लाख ५० हजार गाडी मात्र बिक्री गरेको अनुमान गरिएको छ।

सन् २०२५ टेस्लाका लागि चुनौतीपूर्ण वर्ष रह्यो। एलन मस्कको राजनीतिक सक्रियता, चिनियाँ ईभी उत्पादकहरूसँगको कडा प्रतिस्पर्धा तथा नयाँ किफायती मोडेल ल्याउन भएको ढिलाइले कम्पनीको बिक्रीमा असर परेको विश्लेषण गरिएको छ।

गत अक्टोबरमा टेस्लाले बिक्री बढाउने उद्देश्यले आफ्ना दुई लोकप्रिय मोडेलका सस्ता भेरियन्ट सार्वजनिक गरे पनि अपेक्षित सफलता हासिल गर्न सकेन। यसबीच, मस्कमाथि आगामी वर्षहरूमा बिक्री वृद्धि र सेयर मूल्य उकास्न ठूलो दबाब रहेको छ।

बीवाईडीको तीव्र विस्तार र बिक्री वृद्धिसँगै विश्वव्यापी ईभी बजारमा चिनियाँ कम्पनीहरूको प्रभाव झनै बढ्दै गएको देखिएको छ।