अविरल वर्षाले डेङ्गी लामखुट्टेका लार्भा बगाएपछि सङ्क्रमण कम हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — केही दिन अघिको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएपछि देशभरि डेङ्गी सङ्क्रमण कम हुने देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले दसैँपछि परेको वर्षाले लामखुट्टेका लार्भा नष्ट भएको र त्यसका कारण सङ्क्रमण घट्ने बताए।

डेङ्गी फैलाउने प्रमुख लामखुट्टे ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका हुन्छन्। यी लामखुट्टे पानी जम्ने सफा ठाउँमा फुल पार्छन् र त्यहीँबाट लार्भा निस्कन्छ। लार्भा वयस्क भएपछि टोकेर मानिसमा डेङ्गीको सङ्क्रमण फैलाउँछन्। डा. दाहालका अनुसार, पछिल्लो वर्षाले लामखुट्टेका लार्भा बगाएको र जाडो सुरु भएकाले डेङ्गी सङ्क्रमणको सम्भावना कम छ।

उनले कात्तिकसम्म सङ्क्रमणको जोखिम रहेकाले सतर्कता अपनाउन जनतालाई आग्रह पनि गरे। अहिलेसम्म पाँच हजार ५४२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने दसैँको बीचमा मात्रै १९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। डोल्पा र मनाङ बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।

प्रदेशअनुसार सङ्क्रमितको विवरण यस प्रकार छ: कोशी प्रदेशमा ७८५, मधेस प्रदेशमा ११९, बागमती प्रदेशमा १,३१४, गण्डकी प्रदेशमा १,३५६, लुम्बिनी प्रदेशमा ९७३, कर्णाली प्रदेशमा ३२८ र सुदूरपश्चिम प्रदेशमा ६६७ जना।

डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज तथा नष्ट अभियान सञ्चालन गर्दै आएको छ, जसले सङ्क्रमण कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।