पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड, जलजलेमा फेरि चोरी भएको छ। करिब तीन महिनादेखि उद्योग परिसरमा भइरहेको शृङ्खलाबद्ध चोरीको पछिल्लो घटनामा मंगलबार राति उद्योग प्रवेशद्वार नजिकै रहेको गणेश मन्दिरका पूजासामग्री चोरी भएका छन्।
उद्योगका निमित्त महाप्रबन्धक वैद्यनाथ झाले बुधबार बिहान पूजा गर्न आएका पुजारीले चोरी भएको जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार बिहान ५ बजे मन्दिर पुग्दा ढोका खुला अवस्थामा थियो भने भित्रका पूजासामग्री गायब थिए।
पुजारी बालकुमार पराजुलीका अनुसार मन्दिरमा रहेका पूजा थाली, तामाको गाग्री, अम्खोरा लगायतका सामग्री चोरी भएका छन्। मूर्ति भने यथावत् राखिएको छ। मन्दिरको ताला समेत फेला नपरेकाले चोरले नै लगेको हुनसक्ने अनुमान गरिएको छ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीलाई जानकारी गराइसकिएको झाले बताउनुभयो। प्रहरीले टोली पठाएर अनुसन्धान गर्ने आश्वासन दिएको उहाँको भनाइ छ।
उद्योग परिसरभित्रै इलाका प्रहरी कार्यालय जलजले रहेको छ। मन्दिर प्रहरी कार्यालयबाट करिब ४०० मिटरको दूरीमा छ। उद्योगमा ५९ जना सुरक्षाकर्मी कार्यरत रहे पनि चोरीका घटना रोकिएका छैनन्। तीमध्ये १८ जना उद्योग परिसरको सुरक्षामा, २० जना सरसफाइ तथा अन्य काममा र २० जना २५ किलोमिटर टाढा सुकौरास्थित चुनढुङ्गा खानी क्षेत्रमा खटिएका छन्। एक जना सुरेन्द्र मगर सुरक्षा कमान्डरका रूपमा कार्यरत छन्।
उद्योगका एक ज्यालादारी कर्मचारीका अनुसार यसअघि उद्योगभित्र विभिन्न स्थानमा छ पटक चोरी भइसकेको छ। गत भदौ ११ गतेदेखि महाप्रबन्धक आवासमा मात्रै तीन पटक चोरी भएको उनको भनाइ छ। क्वार्टरको ढोकाको ह्यान्डल तोडेर ५६ इन्चको एलईडी टेलिभिजन र मोबाइल चार्जरलगायत सामग्री चोरी भएका छन्।
उद्योग सञ्चालन र महाप्रबन्धक नियुक्तिमा ढिलाइ
एसियाकै गुणस्तरीय सिमेन्टमध्ये मानिने गैँडा ब्रान्डको उदयपुर सिमेन्ट उद्योग विगत चार वर्षदेखि महाप्रबन्धकविहीन अवस्थामा छ। उद्योग लगभग बन्द अवस्थामा पुगेको छ। छ महिनाअघि १५ दिन सञ्चालन हुँदा उत्पादन भएको क्लिंकरसमेत बोरा अभावमा बिक्री हुन सकेको थिएन।
निमित्त महाप्रबन्धक झाको जिम्मेवारीमा आएपछि उधारोमा ५३ हजार थान बोरा खरिद गरी बिक्री वितरण सुरु गरिएको थियो। तर निजी सिमेन्ट उद्योगहरूले मूल्य घटाएपछि गैँडा सिमेन्टको बिक्री पनि प्रभावित भएको उहाँले बताउनुभयो।
निजी उद्योगहरूले ८५० रुपैयाँमा बिक्री गर्दै आएको सिमेन्टको मूल्य घटाएर ६५० रुपैयाँ पुर्याएका छन्। उदयपुर सिमेन्टले ७२५ रुपैयाँमा बिक्री सुरु गरेपछि निजी उद्योगहरूले मूल्य घटाएको झाको भनाइ छ। मन्त्रालयस्तरको निर्णय आवश्यक पर्ने भएकाले उदयपुर सिमेन्टको मूल्य तत्काल घटाउन नसकिएको उहाँले बताउनुभयो।
महाप्रबन्धक नियुक्ति प्रक्रिया अझै टुङ्गिएन
बन्द उद्योग तथा कलकारखाना सञ्चालन गर्ने प्रतिबद्धता जनाएको सरकारले उदयपुर सिमेन्ट उद्योग सञ्चालनका लागि सञ्चालक समिति र महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। सरकारले प्रचण्डमान श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष तथा अन्य दुई सदस्य नियुक्त गरिसकेको छ। तर महाप्रबन्धक नियुक्ति भने अझै टुङ्गिएको छैन।
महाप्रबन्धक नियुक्तिका लागि उद्योगले भदौ १७ गते सूचना प्रकाशित गरेको थियो। आवेदन दिएका नौ जनाको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता असोज १३ र १४ गते सम्पन्न भएको थियो। त्यसपछि उत्कृष्ट तीन उम्मेदवारको नाम असोज ३० गते मन्त्रालयले सार्वजनिक गरेको थियो।
छनोटमा परेका तीन उम्मेदवारमा चितवनका उमेश लामिछाने, कालीकोटका कमल शाही र अर्घाखाँचीका रामचन्द्र पाण्डे छन्। उनीहरूमध्ये एक जनालाई महाप्रबन्धक नियुक्त गर्न बाँकी छ।
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच नियुक्तिका विषयमा सहमति हुन नसक्दा निर्णयमा ढिलाइ भएको हुनसक्ने आशंका पनि गरिएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन।







प्रतिक्रिया