अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि सैन्य कारबाही गर्न नेतान्याहुको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीका विषयमा टेलिफोनमार्फत छलफल भएको थियो। राष्ट्रपति ट्रम्पले भने आइतबार उक्त फोन वार्ता ‘धेरै राम्रो’ भएको बताउनुभएको थियो।

प्रतिवेदनअनुसार नेतान्याहु सैन्य कारबाहीको पक्षमा रहनुभएको छ भने ट्रम्प तत्काल कूटनीतिक वार्ता जारी राख्न चाहनुहुन्छ। यद्यपि, उहाँले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाउनुभएको छ। कतारी मध्यस्थकर्ताहरूले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा कुनै सहमति भइनसकेको बताउनुभएको छ। उहाँले कूटनीतिक समाधानका लागि प्रयास भइरहेको उल्लेख गर्दै अमेरिकाले पनि कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गर्नुभएको छ।