नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको आरोप लगाउँदै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
सानेपास्थित पार्टी मुख्यालयमा विशेष सम्बोधन गर्दै थापाले समाचार लेखेकै आधारमा सञ्चारगृहभित्र प्रवेश गरेर पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको टिप्पणी गरे। उनले यस्तो गतिविधिको कांग्रेसले सशक्त प्रतिवाद गर्ने बताए।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि शङ्कास्पद देखिएको उनको भनाइ छ। सुरुमा प्रहरीले पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्रीको सचिवालयले आफूहरूलाई जानकारी नभएको वक्तव्य दिएको, पछि प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्न पक्राउ गरिएको भन्ने प्रहरीको भनाइ आएको र शनिबार बिहान उक्त वक्तव्यसमेत हटाइएको उनले बताए।
थापाले प्रधानमन्त्रीकै सचिवालयबाट २८ जना पत्रकारको सूची बनाएर प्रहरीलाई पठाइएको विषय सार्वजनिक भएको दाबी पनि गरे।
पत्रकार पक्राउ परेपछि रिहा हुँदैमा घटना टुङ्गिन नसक्ने उल्लेख गर्दै उनले यसले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न उठाएको बताए।
प्रहरीले आफैँ निर्णय गरेर सञ्चारगृहमा प्रवेश नगरेको दाबी गर्दै थापाले सत्ताको सनक र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा राज्य सञ्चालन गर्न खोजिएको आरोप लगाए।
सरकारमा रहेकाहरूमा आफू नै राज्य हुँ भन्ने अहङ्कार देखिएको टिप्पणी गर्दै उनले राज्यका निकाय र शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको बताए। सरकारमा बसेकाहरूले आफ्नो इच्छा नै कानुन हो भन्ने ठान्न थालेपछि समस्या सुरु हुने उनको भनाइ थियो।







प्रतिक्रिया