इरानविरुद्ध सैन्य कारबाहीको समीक्षा गर्दै अमेरिका, ट्रम्प–नेतन्याहूबीच टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाले इरानविरुद्ध सम्भावित नयाँ सैन्य कारबाहीका विकल्पबारे समीक्षा गरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच शनिबार टेलिफोन वार्ता भएको छ। ‘द वाल स्ट्रिट जर्नल’ले उच्च स्रोतहरूलाई उद्धृत गर्दै दुई नेताबीच कुराकानी भएको जनाएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा शीर्ष सैन्य अधिकारीहरूसँग इरानविरुद्ध पुनः ठूलो स्तरको सैन्य कारबाही गर्ने सम्भावित रणनीतिबारे छलफल गरेका थिए। यही पृष्ठभूमिमा ट्रम्प र नेतन्याहूबीच संवाद भएको बताइएको छ।

यद्यपि, सैन्य विकल्पको समीक्षा भइरहे पनि अमेरिकाले कूटनीतिक वार्ता जारी राखेको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जर्जियामा आयोजित जी–२० विदेशमन्त्रीस्तरीय बैठकपछि इरानसँग प्रत्यक्ष र मध्यस्थकर्तामार्फत संवाद भइरहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले सैन्य कारबाहीबारे अहिलेसम्म अन्तिम निर्णय नगरेको पनि उनले स्पष्ट पारे।

रुबियोले कुनै पनि सम्भावित सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनले इरानको आणविक कार्यक्रम तथा हेजबुल्लाह, हुती र इराकी लडाकू समूहलाई दिइँदै आएको समर्थनलाई पश्चिम एसियाको स्थिरताका लागि चुनौतीका रूपमा प्रस्तुत गरेका छन्।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पठाएको पत्रपछि वासिङ्टनको भाषा र प्रस्तुति परिवर्तन भएको इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले बताएका छन्। कतारी मध्यस्थकर्तामार्फत प्राप्त उक्त पत्रलाई उनले सकारात्मक रूपमा लिएको बताएका छन्।

‘न्युयोर्क टाइम्स’का अनुसार पत्रमा भान्सको नेतृत्वमा इरानको आणविक कार्यक्रमसहितका विषयमा प्रत्यक्ष वार्ता अघि बढाउने प्रस्ताव गरिएको छ। ‘द वाल स्ट्रिट जर्नल’ले भने उक्त प्रस्तावलाई ठोस शान्ति सम्झौताभन्दा पनि वार्ताको प्रारम्भिक ढाँचा भएको उल्लेख गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराक्चीले पनि संवादका लागि वासिङ्टनले गरेको प्रयासलाई सकारात्मक कदम भनेका छन्। मध्यस्थकर्ताहरूसँग परामर्श गर्न इरानी प्रतिनिधि दोहा पुगिसकेको र एक साताभित्र दोहा वा इस्तानबुलमा औपचारिक बैठक हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

तर, इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले अमेरिका वा इजरायलबाट कुनै पनि सैन्य वा आतंकवादी आक्रमण भए इरानी सेनाले कडा जवाफ दिने चेतावनी दिएका छन्।

उता, राष्ट्रपति ट्रम्पले इरान वार्ताका लागि निकै आतुर रहेको दाबी गर्दै वर्तमान संकट चाँडै अन्त्य हुने बताएका छन्।