पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पक्राउको स्पष्ट आधार, पुर्जी र अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब भएको बताउनुभयो। उहाँले यस्ता घटनाको जवाफ सरकारले दिनुपर्ने धारणा राख्नुभयो।

आङ्देम्बेले सरकारका सही काम, जनसरोकारका विषय र सुशासनका प्रयासमा कांग्रेसको समर्थन रहने तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणविपरीतका गतिविधिको विरोध गर्ने स्पष्ट पार्नुभयो।

उहाँले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने र सरकारका सबै काम कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिनुभयो। सरकारका गतिविधिमा जवाफदेहिताको अभाव देखिएको उहाँको भनाइ थियो।

कांग्रेसले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने पार्टीको स्पष्ट अडान रहेको नेता आङ्देम्बेले बताउनुभयो।